आसफोर्ड, २८ जुलाई । आसफोर्डस्थित ग्रेट चार्ट आरडी स्पोर्टस्को हरियो खेल मैदानमा बजेको सरलाईमा सर.... च्याब्रुङको धुनले टाढैबाट बेलायतमा भएका लिम्बू दाजुभाई तथा दिदीबहिनीहरुको मन आकरि्षत गरिरहेको थियो । किरात याक्थुङ चुम्लुङको उक्त भेलालाई लिम्बू दाजुभाई तथा दिदीबहिनीहरुको मात्र नभएर गैर लिम्बूहरुको उपस्थितिलाई समेत स्वागत गदै भेटघाट गर्ने यो अवसर सांस्कृतिक समायोजनको भेला भएको अनुभव गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष अर्जुन नुगो लिम्बूको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा याक्थुङ चुम्लुङ युकेका महासचिव राजेन लाबुङ लिम्बूको स्वागत मन्तब्य र आसन ग्रहण पछि अभिनन्दन समारोह र लिम्बुवानको सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा अभिनन्दित हुनेहरुमा नेपालबाट आमन्त्रित किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष अर्जुन नुगो लिम्बू, वेलायतकालागि नवनियुक्त कार्यबाहक नेपाली राजदुत झविन्द्र आर्याल, प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सम्पूर्ण नेपालीहरुलाई सञ्चार माध्यमबाट मनोरञ्जन एबं बिभिन्न तवरले सहयोग गरि योगदान पुर्याउनु हुने बीएसबीएफका जनरल म्यानेजर खेम गुरुङ्ग, मिलिटरी साइन्समा बिद्यावारिधी गर्नु भएका रामनारायण कन्दङ्वा हुनुहुन्थ्यो ।
त्यसैगरी कलिलै उमेरमा सामाजिक सोंच बोकेर नेपालबाट बेचिएका चेलीहरुलाई उद्धार गर्ने माइति नेपाललाई रकम सङ्कन गर्न स्कटल्याण्डमा रहेको युकेको सबै भन्दा अग्लो बेन नेभिस डाँडाको सफल ट्रेकिङ् र जीसीएसइ परीक्षामा सात बिषयमा "ए" ग्रेड ल्याएर जीसीर्एर्सइ उत्रिण गरेकी सुश्री शारदा आङ्बुहाङ लिम्बू र चलचित्रका गीतहरु भिजुवल गर्न नेपालबाट आउनु भएका नायक धिरेन शाक्यलाई कार्यक्रमा अभिनन्दन गरिएको थियो ।
बेलायतमा रहेका लिम्बू दाजुभाई दिदीबहिनी र बालबालिकाहरुलाई आफ्नो इतिहास, जाति, भाषा, लिपि, साहित्य र संस्कृति जस्ता बिषयमा जानकारी गराउन र देश बिदेशमा रहेका लिम्बू दाजुभाई दिदीबहिनीहरुलाई खबर पुर्याउने उदेश्यले किरात याक्थुङ चुम्लुङको मुखपत्र "मिकफुत्ला लाजे इङघङ" -बेलायति समाचार) प्रमुख अथितिबाट बिमोचन गरिएको थियो ।
यो पत्रिकालाई आउने बर्षदेखि किरात याक्थुङ चुम्लुङ युकेको गतिबिधी र अन्य खोजमुलक लेखहरु समाबेश गरि स्मारिकाको रुपमा प्रकाशित हुने योजना पत्रिकाका प्रधान सम्पादक टंक वनेमले बताउनु भयो ।
बिदेशी भूमीमा इतिहास, भाषा, लिपि, संस्कृति र साहित्यलाई समेटेर प्रकाशित गरिएको जातीय पत्रिका "मिकफुत्ला लाजे इङघङ" ऐतिहासिक एवं लिम्वु भाषाको संरक्षण र विकासमा कोसेढुङ्गा भएको उपस्थित पाठकहरुले राय व्यक्त गरेका थिए ।
उtm रमाइलो भेलालाई थप आकर्षक बनाउनका लागि प्रवासी नेपाली साहित्य समाज बेलायत -प्रभात) र किरात याक्थुङ चुम्लुङ युकेद्धारा बिभिन्न साहित्यिक पुस्तक साथै किरात थाक्थुङ मुन्धुम् संम्बन्धी अनुसंन्धानात्मक पुस्तकहरुको प्रदर्शनी गरिएको थियो ।
करिब २२०० लिम्वु तथा गैर लिम्वुहरुको उपस्थिति रहेको भेला र बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई सम्बोधन गदै नेपालबाट आउनु भएका प्रमुख अथिति किरात याक्थुङ चुम्लुङका केन्दीय अध्यक्ष अर्जुन नुगो लिम्बूले नेपालको वर्तमान स्थितिमा संविधान सभाको निर्वाचन र संघात्मक सरकारको आबश्यता बारे किरात याक्थुङ चुम्लुङको धारणा राख्नु भएको थियो ।
किरात याक्थुङ चुम्लुङ् युकेका अध्यक्ष श्रीप्रसाद साम्ब्यू लिम्बूले कार्यक्रममा देश बिदेशबाट सहभागी तथा अथितिहरुलाई स्वागत गदै सम्पूर्ण लिम्बू तथा गैर लिम्बूहरुलाई धन्यबाद दिनु भएको थियो ।
मन्तब्यकै क्रममा अध्यक्षले नेपालमा भएका बिभिन्न भाषा र संस्कृतिहरुलाई संरक्षण गर्न सके मात्र विश्व मान चित्रमा अनेकतामा एकता भएर चिनिने छौं भन्नु भयो । उहाँले भाषा, साहित्य, संस्कृति र धर्म बारे होशियार हुन सकियो भने आफ्नो मौलिकता र पहिचान कायम गर्न सकिन्छ भन्ने कुरामा जोड दिनु हुदै जनजाति महासंघले उठाएका मागहरुप्रति नैतिक समर्थन र ऐक्यबद्धता जनाउने बिचार ब्यक्त गर्नु भयो ।
किरात लिम्बू इतिहास, भाषा, लिपि र संस्कृति बारे गहिरो अध्ययन र अनुसंन्धान केन्द्रको स्थापनाकोलागि अगष्ट १९ मा क्याम्बर्लीको बृटिस ल्याइजन हलमा दिनको एक बजे बृहत भेला र छलफल हुने कुरा समेत अध्यक्षले जानकारी गराउनु भयो ।
कार्यक्रमको मध्यान्तरमा प्रमुख अतिथि अर्जुन नुगो लिम्बू, अध्यक्ष श्रीप्रसाद लिम्बू, बीएफबीएसका जेनेरल म्यानेजर खेम गुरुङ्ग, सगरमाथा गोरखा कम्युनिटी आसफोर्डका अध्यक्ष सन्तोष घले र नायक धिरेन शाक्यले च्याब्रुङ नाचेर च्याब्रुङ नाचको महत्व र हौसला बर्ढाई दिनु भएको थियो ।
उक्त भेलामा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष श्रीमति नरकुमारी लिम्बू, शेर्पा किदुक युकेका अध्यक्ष आङ्ग कल्जङ्ग लामा, किरात राइ यायोख्खाका उपाध्यक्ष शिब राइ, भूपु वाणिज्य मन्त्री बिजयप्रकाश थेबे, एनएचएस क्षेत्रीय निर्देशक डा.बिना थेबे, युरोपको नेपाली पत्रका प्रधान सम्पादक डा.चन्द्र लक्सम्बा, डा.फौदराज थेबे, टुआरजिआरका गोरखा मेजर शिबकुमार लिम्बूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको बिसौनीमा सेरु लिम्बूको अगुवाईमा मिसेस चुम्लुङ, सुश्री चुम्लुङ, राफल चिठ्ठ्ठा, बालबालिकाहरुकोलागि टक अफ वार खेलद्धारा मनोरञ्जन गराउदै किरात याक्थुङ् चुम्लुङको रमाइलो भेला समापन गरिएको थियो ।
च्याब्रुङ नृत्यकारहरुले च्याब्रुङकै लयमा बिदाइको हात हल्लाउदै च्याब्रुङ घन्काई रहेका थिए । सरलाईमा सर ...याम्मु तुमीरो...-फेरि भटौं है) ।